FAQs Complain Problems

समाचार

जानकी गाउँपालिकाको संक्षिप्त परिचय

जानकी गाउँपालिका नेपालको सुदूरपश्चिम  प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । यस गाउँपालिकामा साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरि ४ ओटा गा.वि.स. समावेश गरि ९ वटा वडा कायम गरिएको छ । यो गाउँपालिका पूर्व पश्चिम राजमार्ग अवस्थित लम्की चोकबाट दक्षिणतर्फ करिब १० किलोमिटरको दुरीमा रहेको छ । विश्व मानचित्रमा जानकी गाउँपालिकाको भौगोलिक अवस्थिति २८o ३१' १७'' देखि ३०o ३६' ५२'' उत्तरी आक्षांस सम्म र ८१० २' ३१'' देखि ८१० १५' ४४'' पूर्वी देशान्तरसम्म फैलिएको छ । त्यसैगरी १०७.२७ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा बर्दिया जिल्ला, पश्चिममा जोशीपुर गाउँपालिका, उत्तरमा लम्की चुहा नगरपालिका र दक्षिणमा टीकापुर नगरपालिका रहेका छन् ।

कैलाली जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरुमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा जानकी गाउँपालिका रहेको छ । यसका अतिरिक्त यहाँका सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँपालिका बासी समेत दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । वि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ४८५४० रहेको छ जसमध्ये महिलाको जनसंख्या २५५८४ (५२.७१ %) र पुरुषको जनसंख्या २२९५६ (४७.२९ %) रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । जनगणनाको तथ्याङ्क अनुसार सबैभन्दा बढी थारु जाति २९३१७ जना (६०.४०%), दोस्रोमा ब्राहमण (पहाडी) ४८८७ (१०.०७%) र तेस्रोमा क्षेत्री ४७६२ (९.८१%) हरुको बसोबास रहेको छ । तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा ब्यापार, उद्योग, कलकारखाना , प्राकृतिक स्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ  र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य स्रोतहरुमा व्यापार, उद्योग, नोकरी साथै वैदेशिक  रोजगार पनि एक हो । यस गाउँपालिकामा अधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरु रहेका छन् ।  विभिन्न समुदाय ,जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।